२०८३ कार्तिक ३० गते, सोमबार ७:५६

सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो

वीरगन्ज-

सिर्सिया खोलामा स्वच्छ पानीको सतह बढाउन गण्डक नहरमार्फत नारायणी नदीको पानी आइतबार बिहानदेखि खोलामा मिसाइएको छ ।

वीरगन्ज महानगरपालिका–२७, जगरनाथपुरस्थित छठ घाट नजिकै गण्डक नहरको बाँध काटेर नहरको पानी सिर्सिया खोलामा मिसाइएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धि बहादुर पन्त (हरि पन्त) को पहलमा भारतको बिहारस्थित रामपुर क्यानलबाट नारायणी नदीको पानी गण्डक नहर हुँदै सिर्सिया खोलामा ल्याइएको हो ।

छठ पर्वमा व्रतालु तथा श्रद्धालुहरूलाई पूजाआराधना गर्न स्वच्छ पानी आवश्यक पर्ने भएकाले नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइएको सांसद पन्तले जानकारी दिए । नारायणीको पानी सिर्सिया खोलासम्म ल्याउन विगत एक महिनादेखि प्रयास भइरहेको र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा पानी ल्याउन सफल भएको उनले बताए ।

लामो समयदेखि प्रदूषित रहँदै आएको सिर्सिया खोलालाई स्वच्छ बनाउन आफू निरन्तर प्रयासरत रहेको बताउँदै सांसद पन्तले यस विषयलाई पटक–पटक प्रतिनिधिसभामा उठाएको जानकारी दिए । उनका अनुसार सांसदमा आवाज उठेपछि नेपाल सरकारको उद्योग मन्त्रालयसमेत सक्रिय भएर लागेपछि अहिले सिर्सिया खोलामा केही हदसम्म स्वच्छ पानी ल्याउन सम्भव भएको हो ।

सिर्सिया खोलालाई पूर्ण रूपमा स्वच्छ बनाउन तत्कालका लागि पानी मिसाउने व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाएको सांसद पन्तको भनाइ छ । उनले आफ्नो कार्यकालभित्रै सिर्सिया खोलालाई पूर्ण रूपमा स्वच्छ बनाउने लक्ष्य रहेको दाबीसमेत गरे ।

लोकआस्थाको पर्वका रूपमा मनाइने छठ पूजामा नदी, खोला, तलाउ तथा प्राकृतिक जलाशयको विशेष महत्त्व छ । व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ्य दिने परम्परा रहेकाले यस पर्वमा स्वच्छ पानीको आवश्यकता अझ बढी हुन्छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा रहेका करिब दुई दर्जन उद्योगबाट निस्कने रसायनयुक्त फोहोर तथा स्थानीय तहको कमजोर व्यवस्थापनका कारण सिर्सिया खोलाको पानी लामो समयदेखि प्रदूषित हुँदै आएको छ । उद्योगबाट निस्कने रसायनयुक्त फोहोर पानी प्रशोधन नगरी सिधै खोलामा मिसाइँदा पानी अम्लीय र दुर्गन्धित बन्ने गरेको छ ।

यसैबीच, नेपाल सरकारको पहलमा पहिलोपटक खोलालाई प्रदूषित बनाउने उद्योगहरूको जिम्मेवारी पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ । साथै, खोलाको सरसफाइसमेत सुरु गरिएको छ ।

विगत एक सातादेखि खोलाको पानी सफा बनाउने प्रयास भइरहेको र त्यसको प्रभावस्वरूप पानी केही हदसम्म स्वच्छ देखिन थालेको वीरगन्जवासी बताउँछन् ।

छठ पर्व नजिकिएसँगै सिर्सिया खोलाको प्रदूषण र दुर्गन्धको विषय राजनीतिक मुद्दा बन्ने गरेको भए पनि पर्व सकिएपछि यो विषय ओझेलमा पर्ने गरेको स्थानीयको गुनासो छ । यस वर्ष भने नेपाल सरकार नै खोलाको पानी स्वच्छ बनाउन सक्रिय देखिएकाले सरकारी प्रयास कति प्रभावकारी हुन्छ भन्ने कुरा आगामी दिनले देखाउने वीरगन्जवासीको भनाइ छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस